काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलको भ्रष्टाचार मुद्दामा सिंगापुरको बैंकको विस्तृत विवरण झिकाई अदालतमा पेस गर्न अख्तियारको नाममा आदेश जारी गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले अभियोग पत्रमा दाबी गरिएको सिंगापुरको बैंकमा रहेको रकम र त्यसको विस्तृत विवरण इजलासलाई उपलब्ध गराउन आदेश गरेको विशेष अदालतले जनाएको छ ।
अदालतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक लिमिटेडमा पौडेलको तीनवटा खाता रहेको र त्यसमा नेपालमा आर्जन गरेको गैरकानुनी सम्पत्ति लुकाएको अभियोगपत्रमा दाबी गरेपछि विशेषले यस्तो प्रमाण हेरेर फैसला सुनाउनुपर्ने भएकाले मगाउन आदेश गरेको हो ।
विशेष अदालतले युनाइटेड ओभरसिज बैंकमा खाता खोल्दा भरेको फारम, पेस गरेको पासपोर्ट, नागरिकतालगायतका कागजात तथा फोटोको प्रतिलिपि र खातामा रहेको रकमको विवरण मागेको हो ।







