काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई)ललित कुमार बुढाथोकीविरुद्ध मुद्दा दायर गरेको छ ।
बिहीबार जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख सई बुढाथोकीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार बुढाथोकीले सवारी साधनलाई आवत/जावत गर्न सहजीकरण गरिदिए बापत घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीबाट पच्चीस हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
अनुसन्धान गर्दा बुढाथोकीले घुस/रिसवत माग गरी लिएको पुष्टि भएकाले उनलाई भ्रष्टाचार गरेको कसुरमा बिगो पच्चीस हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय तोकिएको आयोगले जनाएको छ ।







