काठमाडौँ । सत्ताको प्रमुख दल नेपाली काँग्रेसका नेताहरुले व्यवसायी मीनबहादुर गुरुङले गरेको दानबाट नेकपा एमालेको पार्टी कार्यालय बनाउने कार्यको विरोध गरेका छन् ।
विजयादशमीको एक दिन अघि एमालेको नयाँ केन्द्रीय कार्यालयको शिलान्यास प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले गरेका थिए । एमालेको पार्टी कार्यालयका लागि १० रोपनी १४ आना जग्गा दान गरेका गुरुङले भवन निर्माण गर्ने जिम्मेवारी समेत लिएका छन् ।
पार्टी कार्यालय निर्माणमा व्यवसायीको दान लिएपछि एमाले विरोध भएको छ । सत्ताको प्रमुख दल काँग्रेसका नेताहरुले ‘विवादित’ व्यवसायीबाट दान लिएर पार्टीको कार्यालय बनाउने कार्यको विरोध गरेका हुन् ।
काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पार्टी कार्यालय पार्टी सदस्यहरूको सहयोगबाट बनाउन उचित हुने विचार राख्छन् । कार्यालय बनाउन कार्यकर्ताले योगदान गर्न पाउनुपर्ने शर्माको मत छ ।
शर्मा भन्छन्,‘भवन बलियो भावनाहरू गाँसेर हुनुपर्छ । मेरो पनि योगदान छ, भनेर प्रत्येकले अपनत्व बोध गर्न पाउनुपर्छ ।’ काँग्रेसको केन्द्रीय कार्यालय मूलतः पार्टी सदस्यकै सहयोगमा निर्माण भएको शर्माको जिकिर छ । ‘कयौँ व्यवसायीको ससानो धन पनि यो निर्माणमा सरिक छ । तर मूलतः यसमा पार्टी सदस्यको मन जोडिएको छ, काँग्रेसको केन्द्रीय कार्यालय पार्टी स्वयंले बनाएको बताउँदै शर्मा भन्छन्, ‘श्रमिक, किसान, सयौँ शुभचिन्तक एवं समर्थकको अपनत्व र स्वामित्व यसमा छ । त्यस बेलाका ४ लाख बढी क्रियाशील सदस्यको सदस्यताको रकम यसमा प्रयोग भएको छ ।’
देशको राजस्व बढाउने र रोजगारी सिर्जनाको दायरा विस्तारित गर्ने कार्यमा निजी क्षेत्रलाई संलग्न गर्नुपर्ने शर्माको मत छ । भूकम्प प्रभावितका घर, गाउँमा शैक्षिक संस्था र स्वास्थचौकीका भवन, पुल, रंगशाला निर्माण लगायतमा निजी क्षेत्रलाई संलग्न गराउन उपयुक्त हुने शर्माको धारणा छ ।
काँग्रेस नेता एवं राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा एमालेको पार्टी कार्यालय निर्माणमा व्यवसायी गुरुङको दानप्रति असन्तुष्टि व्यक्त गरेका छन् । पार्टी कार्यालय व्यवसायीको रकमले बनाउने कार्यले प्रधानमन्त्री केपी ओली र ‘समाजसेवी’ गुरुङको साख नउठेको टिप्पणी खतिवडाले गरेका छन् । उनी भन्छन्,‘केही नलेखेर बस्न मन थियो तर मन मानेन । यो समयमा विपत्ति पीडितलाई दुवै जनाले सहयोग गरेको भए कत्ति राम्रो हुन्थ्यो होला ?’
काँग्रेसका अर्का केन्द्रीय सदस्य नैनसिंह महर दानबापत पाएको जग्गा एमालेले फिर्ता गर्नुपर्ने विचार राख्छन् । जनतामा छरिएको निराशालाई आशामा परिणत गर्न वर्तमान गठबन्धन बनेकाले प्रधानमन्त्रीले कसैबाट दानदातव्य र नजराना लिनु सुशासनको खिलाप हुने महरले बताए । व्यवसायी गुरुङमाथि उठेको प्रश्नको निरूपण नभए सम्म कुनै पनि राजनीतिकले सहयोग लिनु वदनियतपुर्ण हने महरको ठहर छ । ‘नेकपा एमाले र प्रधानमन्त्री ओलीले सो जग्गा फिर्ता भएको घोषणा गर्नुपर्छ र देशमा सुशासन, अमनचयन छ भन्ने सन्देश जनतामा दिनुपर्छ, महरले भने ।







