आलिताल र परशुराम दूधमा आत्मनिर्भर « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आलिताल र परशुराम दूधमा आत्मनिर्भर


१५ फाल्गुन २०७४, मंगलबार


डडेल्धुरा । परशुराम नगरपालिका र आलिताल गाउँपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको छ ।

कृषकले उन्नत जातका गाईभैँसी पाल्न थालेपछि परशुराम नगरपालिका र आलिताल गाउँपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको हो ।

कृषकले पछिल्लो समय दूधलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । उत्पादन भएको दूध चिस्यान गरी सदरमुकाम र कैलालीका विभिन्न बजारमा बिक्रीका लागि पठाउने गरिएको छ । व्यावसायिक रुपमा गाईपालन गरी दूध बेचेर पर्याप्त आम्दानी गरिरहेको आलिताल गाउँपालिका कृषक पार्वती मडैले बताइन् ।

उनले दैनिक २५ देखि ३० लिटर दूध बिक्रि गर्दैआएकी छन् । मडैले १२ वटा गाई पालेकी छन् । विभिन्न संघ संस्थाले व्यावसायिक रुपमा गाई–भैँसी पालनबारे अभिमुखिकरण तालिम दिने गरेका छन् । गाउँमै दुग्ध संकलन केन्द्र र चिस्यान घर सञ्चालनमा आएपछि कृषकलाई सहज भएको आलिताल गाउँपालिका–४ का कमलसिंह ऐडीले बताए ।

‘संकलन केन्द्र सञ्चालनमा आएसँगै स्थानीयवासी व्यावसायिक रुपमा गाईपालनतर्फ आकर्षित भएका छन्,’ उनले भने । ऐडीले दैनिक करिब दुई हजार लिटर दूध कैलालीको खप्तड डेरीलाई बिक्री गर्दैआएका छन् । आलिताल गाउँपालिकामा दुईवटा दुग्ध संकलन केन्द्र र चिस्यान घर रहेको छ । परशुराम नगरपालिकाले पनि गाउँगाउँबाट दूध संकलन गरिरहेको छ ।

पछिल्लो समयमा दूध खपत नहुँदा कृषक निराश भएका छन् । उन्नत् जातका जर्सी गाईपालन गरी कृषकले दूध बिक्रीबाट दैनिक पाँच सयदेखि रु एक हजार पाँच सय आम्दानी गरिरहेका छन् । आलिताल–३ का कृषक तारादेवी मडै मासिक दूध बिक्रीबाट ३० हजारदेखि ४० हजारसम्म बचत गर्ने गरेको बताउछन् । रासस

प्रतिक्रिया दिनुहोस