नेपालगन्ज । भन्सारका कर्मचारीसँग मिलेमतो गरी व्यापारीले राजस्व छलेर सामान आयात गरेको पाइएको छ। सवारीसाधनका पार्ट्सदेखि अस्पतालमा बिक्री हुने प्रतिबन्धित औषधिसमेत भन्सार छलेर रुपैडिया नाकाबाट नेपालगन्ज भित्रिने गरेको छ। गत आइतबार साँझ भारतको रुपैडियाबाट अटो पार्ट्स बोकेर आएको बा १८ च २९६७ नम्बरको गाडी भन्सारबाट सहजै छि¥यो। संघीय प्रहरी इकाई नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेका घुमुवा प्रहरीले रुपैडियाबाटै पिछा गरेर आएको उक्त गाडीलाई जयसपुर चौकी नजिक आइसकेपछि नियन्त्रणमा लिए।
महिला र बच्चा बोकेको गाडीभित्र लुकाएर करिब ७६ हजार मूल्य बराबरको अटो पाटर्स ल्याइएको थियो। भन्सार छलेर आएको गाडी र संलग्न तुलसीपुरका व्यापारी श्याम बस्नेतलाई प्रहरीले भोलिपल्टै कारबाहीबिना छाडिदियो, भने सामान लगेर भन्सार कार्यालयमा बुझायो। प्रहरीले नियमअनुसार भन्सार कार्यालयलाई अनिवार्य बुझाउनुपर्छ। गाडीसहित आटो पाटर्स व्यापारीलाई प्रहरीले पक्राउ गरेको समाचार सञ्चार माध्यमबाट बाहिर आइसकेपछि भन्सार कार्यालयका अधिकारी पनि अनविज्ञ थिएनन्। स्रोतका अनुसार प्रहरीले बरामद गरेको सामान बुझ्दा भन्सारका अधिकारीले नियन्त्रणमा लिएको गाडी र संलग्न व्यक्तिबारे सोधपुछ समेत गरेनन्।
खुला सीमा भएका कारण कतिपय सवारीसाधन फुत्केर आउने भन्सार प्रमुख जनार्दन शर्माले बताए। ‘खुला सिमाना भएको हुँदा कन्टेनर र मालबाहक ट्रक बाहेक सबै सवारीसाधन जाँच गर्न सम्भव हुँदैन, कहिले काही त्यस्ता गाडी सहजै छिर्न सक्छन्’, उनले भने। नियम अनुसार प्रहरीले बरामद गरेका सामान र पक्राउ गरेका गाडी तथा संलग्न व्यक्तिलाई अनिवार्य रूपमा भन्सार कार्यालयमा बुझाउनुपर्ने भए पनि कहिलेकाही व्यावहारिकता हेर्नुपर्ने बाध्यता रहेको शर्माले बताए। नेपाली गाडी हुने भएकाले सकभर लिलामी गर्न सकिँदैन, बरु बरामद सामानलाई लिलाम गरेर राजस्व जम्मा गर्न सकिने उनको भनाइ छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।







