काठमाडौं । सरकारले सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन माओवादी विद्रोहीबाट मारिएका सबै कर्मचारीलाई एकमुष्ट सहिद घोषणा गर्ने निर्णय गरेको छ । बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र द्वन्द्वका क्रममा माओवादीबाट मारिएका नेपाली सेना, जनपद र सशस्त्र प्रहरी, अनुसन्धान विभागका कर्मचारी, निजामती कर्मचारी, शिक्षकलगायत सबै राष्ट्रसेवक कर्मचारीलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । कर्मचारी तहबाट माओवादी विद्रोहीबाट मारिएकालाई सहिद घोषणा गर्नुपर्ने माग उठिरहेको थियो ।
सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले विद्रोहीबाट मारिएका सबै राष्ट्रसेवक कर्मचारीलाई सहिद घोषणा गर्ने निर्णय गरिएको जानकारी दिए। तत्कालीन विद्रोहीबाट मारिएका कर्मचारीको संख्या भने यकिन छैन ।
मन्त्रिपरिषद् बैठकले सबैको रेकर्ड खोज्ने र उनीहरूलाई स्वतः सहिदको सूचीमा राख्ने गरी नीतिगत निर्णय गरेको छ । ‘विगतका सरकारले राज्यपक्षबाट मारिएका सबैलाई सहिद घोषणा गरेकाले हामीले पनि विद्रोहीबाट मारिएका सबै राष्ट्रसेवकलाई सहिद घोषणा गरी मृतकका परिवारलाई न्याय दिएका छौं’, मन्त्री बस्नेतले भने ।
सरकारको यो निर्णयसँगै अब गृह मन्त्रालयले द्वन्द्वमा मारिएका सबै कर्मचारीको तथ्यांक संकलन गर्नेछ । सहिद घोषणासँगै मृतकका परिवारले राहतस्वरूप १० लाख रुपैयाँ पाउनेछन् ।
यसैगरी, मन्त्रिपरिषद् बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको समयावधि एक वर्ष थप गर्ने निर्णय गरेको छ । आयोगको म्याद २८ माघमा सकिँदै थियो। यस्तै, बैठकले उच्चस्तरीय शिक्षा आयोगको कार्यावधि ४ महिना थप गर्ने निर्णय गरेको छ ।
बालुवाटारबाटै निर्णय
पछिल्ला तीन सातादेखि प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी कार्यालय सिंहदरबार जानै छाडेका छन् । तीन साताको अवधिमा प्रधानमन्त्री देउवाले आफ्नो निवास बालुवाटारमा मन्त्रिपरिषद्का १० वटा बैठक राखेका छन् ।
सामान्यत सरकारका निर्णय प्रधानमन्त्री र मन्त्रीहरूको कार्यालय सिंहदरबारबाट गर्नुपर्ने मान्यता छ । बालुवाटार बैठकबारे कतिपय मन्त्रीले नै अनभिज्ञता जनाउन थालेका छन् । २१ पुसदेखि प्रधानमन्त्रीले लगातार मन्त्रिपरिषद्को बैठक बालुवाटारमै बस्दै आएको छ ।
पूर्वमुख्यसचिव डा. विमल कोइराला सामान्यत प्रधानमन्त्री बिरामी हुँदा वा तत्काल निर्णय गर्नुपर्दा मात्रै निवासमा बैठक राख्न सकेन अन्य समयमा सिंहदरबारमा राख्नुपर्ने बताउँछन् ।
पूर्वमुख्यसचिव दामोदरप्रसाद गौतमले अन्तर्राष्ट्रिय अभ्यासमा पनि प्रधानमन्त्रीले निवासमा बैठक राख्ने गरेको उदाहरण कहीँ पनि नभएको दाबी गरे ।
‘विश्वमा यस्तो कहीँ पनि भएको छैन, हामीकहाँ यस्तो गाईजात्रा भइरहेको छ’, पूर्वमुख्यसचिव गौतमले भने।
सञ्चारमन्त्री बस्नेतले दिउँसो जनताको काम गर्नुपर्ने भएकाले साँझको समयमा आफूहरूकै सुझावअनुसार प्रधानमन्त्रीले बालुवाटारमा बैठक राख्ने गरेको बताए । आजको अन्न्पूर्ण पोस्ट दैनिकमा खबर छ ।







