काठमाडौं । कांग्रेसले प्रदेशमा संसदीय दलको नेता छान्न चासो देखाएको छैन । सातवटै प्रदेशमा पार्टीको सरकार नबन्ने भएपछि कांग्रेस उदासीन देखिएको हो । सातमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धन र एउटामा मधेसकेन्द्रित दलको नेतृत्वमा सरकार बन्ने निश्चितजस्तै छ । प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसबाट सातवटै प्रदेशमा ११३ सांसद निर्वाचित भएका छन् ।
कुनै पनि प्रदेशमा सरकार निर्माण हुने अवस्था नरहेकाले दलको नेता चयनमा पार्टीले रुचि नदेखाएको कांग्रेस नेताहरू बताउँछन् । सशक्त प्रतिपक्ष बन्न बलियो र योग्य नेता बिस्तारै चयन गर्ने सभापति शेरबहादुर देउवाको चाहना रहेको बालुवाटार स्रोत बताउँछ । ‘पहिला वाम गठबन्धनबाट मुख्यमन्त्रीमा कस्ता नेता सिफारिस हुन्छन्, त्यसपछि त्यसले गर्ने कार्यको ट्याकल गर्न कुन प्रदेश सांसद उपबालुवाटार स्रोतले भन्यो ।
निर्वाचन आयोगले प्रदेश सांसदको पूर्ण सूची सार्वजनिक गरेको २० दिनमा पहिलो अधिवेशन बोलाउने र ३० दिनभित्र मुख्यमन्त्री नियुक्त गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । आयोगले ३ माघमा समानुपातिक र प्रत्यक्षतर्फ निर्वाचित भएका सांसदहरूको पूर्ण सूची सार्वजनिक गरेकाले २३ माघभित्र पहिलो अधिवेशन र ३ फागुनभित्र मुख्यमन्त्री चयन गरिसक्नुपर्छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश संसद्को पहिलो अधिवेशन र राष्ट्रिय सभा निर्वाचनमा मत खसाल्न जिल्ला–जिल्लाबाट अस्थायी मुकाममा सांसदहरू भेला भएका वेला पहिलो बैठक बसाल्ने तयारी रहेको जानकारी दिए ।
‘तत्काल बैठक बोलाएर संसदहरूलाई अस्थायी मुकाममा आउन र फेरि जिल्ला जान गाह्रो हुन्छ,’ शर्माले नयाँ पत्रिकासँग भने, ‘तसर्थ राष्ट्रिय सभा निर्वाचन र प्रदेश संसद्को पहिलो अधिवेशनमा सबै सांसद अस्थायी मुकाम आएका वेला दलको बैठक बस्ने र नेता चुन्ने कार्य गरिन्छ ।’
प्रदेश सदस्य राष्ट्रिय सभा निर्वाचनमा मतदाता हुन्छन् । राष्ट्रिय सभाको निर्वाचन २४ माघमा तय भएको छ । प्रदेश २ मा २१ माघ, ३ मा १८ गते, ४ र ५ मा २२ गते, ६ र ७ मा २१ गते प्रदेश संसद्को पहिलो अधिवेशन आह्वान भएको छ । प्रदेश १ मा अधिवेशनको मिति टुंगो लाग्न बाँकी छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।







