सरकारको रकम अब वाणिज्य बैंकमा पनि « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सरकारको रकम अब वाणिज्य बैंकमा पनि


४ माघ २०७४, बिहिबार


काठमाडौं । सरकारले आफूसँग भएको रकम अब वाणिज्य बैंकमा पनि राख्ने भएको छ । वित्तीय प्रणालीमा लगानीयोग्य तरलता बढ्ने तथा सरकारलाई ब्याज आम्दानी पनि हुने भएकाले सरकारले वाणिज्य बैंकहरूमा समेत खाता खोली रकम जम्मा गर्ने भएको हो ।

यसका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्ने तयारी भइरहेको अर्थसचिव शंकरप्रसाद अधिकारीले जानकारी दिए । नयाँ पत्रिकाले बुधबार आयोजना गरेको दोहोरिइरहने तरलता अभाव विषयक अन्तक्र्रिया कार्यक्रममा सचिव अधिकारीले यस्तो बताएका हुन् ।

हाल सरकारले आफ्नो रकम केन्द्रीय बैंकमा मात्रै राख्दै आएको छ । विज्ञका सुझाब तथा अन्तर्राष्ट्रिय अभ्यासअनुसार सरकारले आफूसँग भएको रकम केन्द्रीय बैंकका अलावा वाणिज्य बैंकहरूमा समेत राख्ने तयारी गरिएको जानकारी उनले दिए ।

अर्थ मन्त्रालयले बजारमा देखिएको लगानीयोग्य तरलता अभावको समस्या समाधानलाई सुझाब दिन सरकारले एउटा अध्ययन समिति बनाएको थियो । उक्त समितिले समेत नीतिगत तथा कानुनी व्यवस्था गरेर वाणिज्य बैंकमा रकम जम्मा गर्न सकिने सुझाब दिएको जानकारी अर्थसचिव अधिकारीले बताए ।

‘सरकारी ट्रेजरीको रकम वाणिज्य बैंकमा सार्न नीतिगत र कानुनी संशोधन गर्नुपर्ने आवश्यकता देखिएको छ,’ उनले भने, ‘अर्थ मन्त्रालयले यस्तो व्यवस्था गर्न आवश्यक तयारी थालिसकेको छ ।’ अर्थ मन्त्रालयले यथाशक्य चाँडो सरकारी खातामा रहेको रकम वाणिज्य बैंकमा समेत जम्मा गर्न सक्ने व्यवस्था गर्ने तयारी गरिरहेको छ । ढिलोमा आगामी बजेटमार्फत यस्तो व्यवस्था गरिने उनले जानकारी दिए ।

सरकारी कोषमा अहिले ३ खर्ब ३० अर्ब रुपैयाँ छ । तर, त्यसमध्ये ‘सरकारी रकम त्यसै थन्किएर बसेको राम्रो होइन । त्यसैले पनि यसलाई वाणिज्य बैंकमा समेत सार्ने व्यवस्था गर्न थालिएको हो,’ उनले बताए । तर, सरकारी कोषको रकम राष्ट्र बैंकमा भए पनि वाणिज्य बैंकहरू, जहाँ भए सरकारले काटेको चेक बाउन्स हुने किसिमको अवस्था आउन नहुने भन्दै त्यसका लागि समेत आवश्यक प्रबन्ध गरिने उनको भनाइ थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस