भक्तपुर । आगामी २०७५ सालको शैक्षिक सत्रबाट कक्षा ११ को वार्षिक परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन नगर्ने भएको छ । सो परीक्षा अब विद्यालय आफैँले सञ्चालन गर्नुपर्नेछ । कानुनमा कक्षा १० को वार्षिक परीक्षा प्रदेशस्तरमा र कक्षा १२ को वार्षिक परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने व्यवस्था छ । हाल कक्षा १० को वार्षिक परीक्षा (एसईई) बोर्डको अनुमतिमा परीक्षा नियन्त्रण कार्यालयले तथा कक्षा ११ र १२ को परीक्षा बोर्डले सञ्चालन गर्दै आएको छ ।
सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले भने, “अब कक्षा ११ को परीक्षा सञ्चालनको जिम्मेवारी विद्यालयलाई नै दिने भएका छौँ, जतिसक्दो छिटो त्यो जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा छौँ । ”
उनले हालको परीक्षा नियन्त्रण कार्यालयलाई अभिलेखालयका रूपमा विकास गरिने प्रस्ट गरे । “परीक्षा नियन्त्रण कार्यालयमा १९९० सालदेखि हालसम्ममा प्राप्ताङ्कका अभिलेख भएकाले त्यसलाई अभिलेखालयका रूपमा विकास गर्नु उचित ठानेका छौँ”, अध्यक्ष डा. पौडेलले भने ।
बोर्डले यसै वर्षबाट कक्षा ११ को नतिजा अक्षराङ्कन (लेटर ग्रेडिङ) पद्धतिका आधारमा सार्वजनिक गर्ने भएको छ । बोर्डका सदस्यसचिव लक्ष्मीराम पौडेलले हालको मूल्याङ्कन प्रणाली वैज्ञानिक नभएको तर्क गर्दै उत्तीर्ण र अनुत्तीर्ण व्यवस्थालाई हटाउन खोजिएको बताए । यस वर्षको कक्षा ११ को परीक्षा गत असारमा सञ्चालन गरिएको थियो र आगामी मङ्सिरमा नतिजा सार्वजनिक गरिँदैछ । आजको गोरखापत्र दैनिकमा खबर छ ।







