काठमाडौँ । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति सिफारिसका लागि समिति गठन गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष नियुक्तिका लागि समिति गठन गरेको सरकारकी सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
चिकित्सा शिक्षा आयोग ऐन अनुसार आयोगको उपाध्यक्ष नियुक्ति सिफारिसका लागि ३ सदस्यीय समिति रहने व्यवस्था छ । लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहने समितिमा मुख्य सचिव वा मुख्य सचिवले तोकेका प्रधानमन्त्री कार्यालयका एक जना सचिव र चिकित्सा क्षेत्रको प्राध्यापकहरूमध्ये सरकारले एक जना महिला रहने व्यवस्था छ ।
मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस समितिको सदस्यमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानकी प्राध्यापक डा. लोचना श्रेष्ठलाई तोकेको छ । आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको पदावधि सकिन लागेकाले सरकारले अर्को उपाध्यक्ष नियुक्ति सिफारिसका लागि समिति बनाएको हो ।