काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मागेअनुसार कक्षा ११ को छात्रवृत्तिका लागि एक हजार ८३ जनाको अनलाइन आवेदन परेको छ ।
महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिका लागि २८ असार विहान १० बजेबाट ४ साउन अपराह्न साढे तीन बजेसम्म आवेदन दिन सुचना जारी गरेको थियो ।
८ दिनको अवधिमा एक हजार ८३ जनाको अनलाइन आवेदन दर्ता भएको महानगरले जनाएको छ । सबैभन्दा धेरै आवेदक विज्ञानको छात्रवृत्तिका लागि परेको छ ।
विज्ञान विषय पढ्न चाहने पाँच सय ४९ छात्र र दुई सय २७ छात्राले अनलाइन आवेदन दिएका छन् । दोस्रोमा व्यवस्थापन विषय पढ्न चाहने छन् । व्यवस्थापन विषय पढ्न चाहने एक सय ४८ छात्र र ९१ छात्राले निवेदन दिएका छन् ।
प्राविधिक विषयका लागि २४ छात्र र १७ छात्रा गरी ४१ जना, कानुन विषयका लागि १६ छात्रा र ७ छात्र गरी २३ जना, मानविकीमा एक छात्र र एक छात्रा तथा शिक्षामा पनि एक-एक छात्रछात्राको आवेदन परेको छ ।