काठमाडौँ । कोशी प्रदेशमा सत्ता गठबन्धनले आफ्नो नेतृत्वमा सरकार बनाउने गृहकार्य थालेको छ । शुक्रबार एमाले नेतृत्वको सरकार ढलेपछि गठबन्धनले आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने गृहकार्य थालेको हो ।
९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि कामचलाउ सरकार बनाउन गठबन्धनले राप्रपासँग वार्ता गर्ने तयारी गरेको छ ।
प्रदेशसभामा ४० सिट भएको एमाले र ६ सिट भएको राप्रपासँगको गठबन्धनमा सरकार बनाउन एक सिट भएको जसपा निर्णायक मानिएको छ । काँग्रेस २९, माओवादी १३ सिट र एकीकृत समाजवादी ४ सिटको गठबन्धनमा सरकार बनाउन राप्रपाको साथ लिनुपर्ने हुन्छ । जबकि सरकार बनाउन ४७ सिट आवश्यक पर्छ ।
मुख्यमन्त्री कार्कीले प्रदेशसभामा शुक्रबार विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो । २०७९ मंसिरमा भएको प्रदेशसभा चुनावपछि पुस २४ मा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।