काठमाडौँ । नेपाल टी-ट्वान्टी लिगमा आएका विदेशी खेलाडीहरूले श्रम स्वीकृति नलिँदा श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले कारवाहीको तयारी थाल्ने भएको छ ।
विभागका प्रवक्ता मनिनाथ गोपेले हालसम्म कुनै पनि खेलाडीले विभागबाट श्रम स्वीकृति नलिएकोले अब कानुनी प्रक्रिया अनुसार अगाडी बढ्ने बताए ।
श्रम स्वीकृतिका लागि ६ टोलीका ३२ जना विदेशी खेलाडीको माग आएपनि हालसम्म स्वीकृत लिएका छैनन् ।
पुष आठ गते सम्बन्धित ६ क्लबहरूले श्रम स्वीकृतिका लागि आवेदन दिएका थिए । आवश्यक कागजात पूरा नभएपछि विभागले थप कागजातको माग गरेको थियो । तर, विभागमा हालसम्म कुनै पनि क्लबले थप कागजात पेस गरेका छैनन् ।
विदेशी खेलाडीको सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँगै गृह मन्त्रालयको समेत सिफारिस आवश्यक पर्छ । श्रम स्वीकृतिका लागि प्रत्येक खेलाडी १५ हजार रुपैयाँ राजश्व बुझाउनु पर्ने हुन्छ ।
विभागलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गत १८ गते सात दिनसम्म विदेशी खेलाडीले श्रम स्वीकृत लिए नलिएको विषयमा जवाफ पठाउन निर्देशन दिएको थियो ।