काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो सरकारमा काम गर्न सहज हुने बताएका छन्।
सोमबार साँझ कार्यभार सम्हालेर मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यसपालिको सरकारमा काम गर्न सहज हुने बताएका हुन्।
काम गरेरै छाड्ने सङ्कल्प भएकाहरूको केन्द्रीकरण भएकाले पनि आफूलाई सहज भएको उनले बताए। ‘केही नयाँ गरेरै छाड्ने सङ्कल्प भएकाहरूको केन्द्रीकरण भएको छ। मलाई सहज छ,’उनले भने। नयाँ सरकार गठनले जनतामा आशा र भरोसा भएको देखिएको पनि उनले बताए।
यस्तै मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको बैठक बोलाउने पनि निर्णय गरेको उनले बताए।
‘हाम्रो अगाडि देशको अगाडि, थुप्रै जटिलता र चुनौतीहरू छन्। तर यो मन्त्रिपरिषद् जस्तो किसिमले बनेको छ। र गएको निर्वाचनमा मतदानको जस्तो परिणाम देखियो त्यसलाई समेटेको छ र आशा जगाएको छ,’उनले भने, ‘हामी भर्खरै पहिलो बैठक सक्यौँ। र हामीले यो बैठकमा पनि सबैभन्दा पहिला नेपालको अर्थतन्त्रको स्थिति जटिल र चुनौतीपूर्ण दिशातर्फ छ, त्यसलाई सुधार्नेबारे छलफल गर्यौँ।’
उनले जनताले पाइरहेको सास्तीलाई कम गर्ने बारेमा पनि निर्णय भएको बताए।