बागमती प्रदेशले डाक्यो सर्वदलीय बैठक « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बागमती प्रदेशले डाक्यो सर्वदलीय बैठक


८ पुस २०७९, शुक्रबार


हेटौंडा । बागमती प्रदेशमा आज सर्वदलीय बैठक बस्दै छ । अहिले ११ बजे बस्ने सर्वदलीय बैठकमा सांसदहरुलाई शपथ गराउनेबारे छलफल हुने प्रदेशसभा सचिवालय हेटौंडाले जनाएको छ ।

बैठकले प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्वाचित भएका सांसदहरुको जेष्ठ सदस्यको अन्तिम निर्णय, शपथ ग्रहणको मिति टुंग्याउने भएको छ ।

बैठकमा जेष्ठ सदस्यको सपथ र प्रदेशसभाका अन्य सदस्यहरुको शपथका विषयहरुमा छलफल गरिने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले जानकारी दिए ।

सर्वदलीय बैठकको निर्णयअनुसार प्रदेशसभा संचालनको लागि जेष्ठ सदस्यको छनोट गरी सबैभन्दा पहिले प्रदेश प्रमुखमार्फत शपथ गराउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

प्रदेश सरकारसँगको समन्वयमा आगामी पुस ११ गतेको लागि जेष्ठ सदस्यको शपथ र १२ गते अन्य सांसदहरुको शपथ ग्रहणको कार्यक्रम राख्ने सर्वदलीय बैठकमा प्रस्ताव गरेर अन्तिम रुप दिने सचिवालयले जनाएको छ ।

प्रदेशसभाको पहिलो बैठकको अध्यक्षताका लागि सचिवालयले जेष्ठ सदस्य समेत छनोट गरिसकेको छ । सचिवालयका अनुसार नेकपा माओवादी केन्द्रका नुवाकोट निर्वाचन क्षेत्र २ (क) बाट प्रदेशसभामा निर्वाचित सांसद रामप्रसाद ढुंगानाले जेष्ठ सदस्यको हैसियतमा पहिलो बैठकको अध्यक्षतासहित अन्य सांसदहरुको शपथ ग्रहण गराउने छन् । सोही विषयमा सर्वदलीय बैठकले अन्तिम रुप दिने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस