काठमाडौँ । पूर्वमन्त्री भोलामान सिंह थापाको निधन भएको छ । पञ्चायती व्यवस्थामा दुई पटक ओखलढुङ्गा जिल्ला विकास समितिको सभापति र सोही व्यवस्थामा एक पटक मन्त्री बनेका थापाको ८५ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको हो ।
थापा केही वर्षयता अल्जाइमर रोगबाट थलिएका थिए । ओखलढुङ्गाको सेर्नामा वि.सं.१९९६ चैत्र २९ गतेको जन्मिएका थापा बहुदलीय व्यवस्था आउनुपूर्व ओखलढुङ्गामा चर्चित थिए । बहुदल आएपछि राप्रपामा आस्था राखेका थापा राजनीतिमा भने धेरै सक्रिय थिएनन् ।
२०३१ सालको चर्चित टिम्मुरबोटे काण्डका बेला थापा आखलढुंगा जिविस सभापति थिए । २०३६ सालको जनमतसंग्रह अगाडि दुई पटक जिविस सभापतिमा निर्वाचित थापा जनमतसंग्रहपछि ओखलढुंगाबाट माछा चुनाव चिन्ह्र लिएर सांसदमा निर्वाचित भएका थिए ।
पञ्चायती व्यवस्थामै थापा केही समय निर्माण तथा यातायात सहायक मन्त्री र सोही कार्यकालमै पछि वन सहायक मन्त्री बनेका थिए । थापाकी श्रीमती, एक छोरा र एक छोरी छन् ।