काठमाडौँ । सरकारले विद्यार्थीहरूलाई ओपिडी सेवाका टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ। स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले विद्यार्थी परिचय पत्रको आधारमा छुट दिने भएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको यो छुट सेवालाई नेकपा (एकीकृत समाजवादी)को भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले स्वागत गरेको छ। सोमबार पत्रकार सम्मेलन गर्दै युनियनका अध्यक्ष सुदेश पराजुलीले विगत लामो समयदेखिका माग सरकारले पूरा गरेकोमा खुसी व्यक्त गरे।
उनका अनुसार अनेरास्ववियुले २०७९ श्रावण ४ गते ज्ञापनपत्र र भाद्र ३० गते स्मरण पत्र बुझाउँदै सबै सरकारी र सामुदायिक विद्यालय तथा क्याम्पसका विद्यार्थीहरूलाई अस्पतालहरूमा ओपिडी सेवा नि:सुल्क र सबै खाले उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित गरियोस् भन्ने माग राखेको थियो।
उक्त मागलाई सम्बोधन गर्दै २०७९ असोज ९ गते स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार सरकारी अस्पतालको ओपिडी सेवाका टिकटमा विद्यार्थी परिचय पत्रको आधारमा ५० प्रतिशत छुटको व्यवस्था लागू हुने भएको उनले जानकारी दिए।
मन्त्रालयका अनुसार कान्ति बाल अस्पताल, शुक्रराज तथा ट्रपिकल सरुवा रोग अस्पताललगायत अस्पतालहरूमा यी सेवा पाइने छ।








