काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । शुक्रबार नेप्से १४.१० अंक (०.७३ प्रतिशत) गिरावट हुँदा १९१०.३८ अंकमा बन्द भएको छ ।
सोमबार १९१२.७४ अंकमा झरेर बन्द भएको नेप्से मंगलबार २१.३० र बुधबार ४७.४४ अंकको वृद्धि भएर १९८१.४८ अंकसम्म पुगेको थियो । तर, बिहीबार एकैदिन ५७ अंकको उच्च गिरावट भएको नेप्से शुक्रबार पनि दहोरो अंकले गिरावट हुँदा मंगलबार र बुधबार भएको वृद्धि भन्दा उच्च गिरावट भएको छ ।
उपसूचकहरुमा म्युचुअल फण्ड बाहेक सबै घटेका छन् । म्युचुअल फण्ड उपसूचक ०.०७ प्रतिशतको सामान्य वृद्धि हुँदा, लगानी, उत्पादनमुलक, लघुवित्त, वित्त कम्पनी हाइड्रोपावर र विकास बैंक उपसूचक १ प्रतिशत भन्दा माथिले गिरावट भएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्सेले) असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द गर्ने निर्णय गरिसकेको छ । असारदेखि सातमा ६ दिन कारोबार हुँदै आएको भएपनि असोजदेखि भने शुक्रबारको कारोबार बन्द गर्ने निर्णय गरेकोले शुक्रबारको कारोबार हुने आज अन्तिम दिन हो ।
शुक्रबार दुई घण्टा मात्रै कारोबार भएको बजारमा २९ लाख १६ हजार २७१ कित्ता सेयर किनबेच हुँदा ९० करोड ८१ लाख ८६ हजार ४८८ रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै रिडी हाइड्रोपावरको ४ करोड २३ लाख ३३ हजारको कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको ३ करोड २ लाख २ हजार र नबिल बैंकको ३ करोडको कारोबार भएको छ ।







