गण्डकी प्रदेश : ढल निकासमा लापरबाही गरे पाँच लाखसम्म जरिवाना हुने « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

गण्डकी प्रदेश : ढल निकासमा लापरबाही गरे पाँच लाखसम्म जरिवाना हुने


१६ श्रावण २०७९, सोमबार


काठमाडौँ । गण्डकी प्रदेश सरकारले ‘गण्डकी प्रदेशमा खानेपानी तथा सरसफाइसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७८’ पारित गरेको छ।

प्रदेशभित्र सहरी एवं ग्रामीण बस्तीमा स्वच्छ, गुणस्तरीय, सर्वसुलभ र सुरक्षित रूपमा खानेपानी आपूर्ति गरी जनस्वास्थ्यको रक्षा गर्न, सरसफाइको व्यवस्था गर्न, ढल निकास तथा फोहोर पानीको व्यवस्थापन गरी वातावरणीय स्वच्छता कायम गर्न पाँच लाख रुपैयाँसम्म जरिवाना हुने गरी ऐन पारित भएको हो।

ऐनमा ढल व्यवस्थापन, अनुमति नलिएरै सञ्चालन गरिने खानेपानी सेवा, विधेयक विरुद्धका काम, खानेपानीको पाइपबाट कुनै यन्त्र जडान गरी अनधिकार पानी प्रयोग गर्ने कार्य लगायतमा कडाइ गर्दै ५० हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुने भनिएको छ।

ऐनमा खानेपानीको पाइपबाट कुनै यन्त्र जडान गरी अनधिकार पानी प्रयोग गर्ने कार्य गरेमा पचास हजार रुपैयाँ तथा मानव मलमूत्रसहित वा रहितको फोहोर पानी ढल निकास प्रणालीमा विसर्जन गरेमा वा मलमूत्र सिधै नदी, जलाशय वा जमिनमा विसर्जन गरेमा पाँच लाख सम्मको जरिवाना हुने भनिएको छ।

यस्तै, अनुमति नलिईकन खानेपानी सेवा, सरसफाइ तथा आयोजना वा सेवा प्रणालीको निर्माण तथा सञ्चालन पनि गर्न नपाइने तथा विधेयकमा भएको प्रावधान विपरीतको कार्य गरेमा प्रदेश सरकारले एक लाख रुपैयाँसम्मको जरिवाना तिराउने उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस