सर्वोच्च तानिए बाँकेका न्यायाधीश अधिकारी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सर्वोच्च तानिए बाँकेका न्यायाधीश अधिकारी


४ श्रावण २०७९, बुधबार


काठमाडौँ । न्यायमा मोलाहिजा गर्ने र फैसलामा कैफियत देखिएका न्यायाधीशमाथि कारबाही तीब्र बनाएका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले अर्का एक न्यायाधीशलाई सर्वोच्च तानेका छन् । 

बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई कामु प्रधानन्यायाधीश कार्कीले मंगलबार सर्वोच्च अदालत काजमा तानेका हुन् । 

पटक-पटक कैफियत फैसला दिएको, कार्यक्षमताको अभाव रहेको र खराब आचरण देखिएको भन्दै अधिकारीविरुद्ध न्यायपरिषदमा उजुरी परेको थियो । 

हालसालै गरिएको एक फैसलामा पनि कैफियत पाइएपछि उनलाई न्याय सम्पादनबाट बाहिर निकाल्न सर्वोच्च अदालत काजमा तानिएको सर्वोच्च अदालत स्रोतले बताएको छ ।  

न्यायाधीश अधिकारीमाथि यसअघि महोत्तरी र सप्तरी जिल्ला अदालतमा रहँदा पनि न्यायिक विचलन र कार्यक्षमताको अभावमा छानबिन भएको थियो । 

सर्वोच्च अदालतका न्यायाधीश नै संलग्न रहेको छानबिन समितिले न्यायाधीश अधिकारीलाई बर्खास्त गर्न सिफारिस गरेको थियो । तर तत्कालीन समयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कारबाही नगरी उनलाई उन्मुक्ति मात्रै दिएनन्, पुरस्कारस्वरुप बाँके जिल्ला अदालतमा सरुवा गरेका थिए । 

बाँके जिल्ला अदालतमा गएपछि पनि उनले न्यायमा मोलाहिजा गर्न बन्द नगरेको र पटक पटक न्यायिक विचलन आउने फैसला गरेको भन्दै उनलाई कामु प्रधानन्यायाधीश कार्कीले न्याय सम्पादनको जिम्मेवारीबाट मुक्त गरी सर्वोच्च अदालत काजमा तानेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस