काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्ने आधार भनेकै प्रचार भएको बताएका छन् ।
बिहीबार केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सरकारले गरेका कामहरू प्रचार हुन नसक्दा चुनाव जित्न सहज नहुने बताए ।
उनले भने, ‘सरकारले गरेका राम्रा काम भन्न अप्ठ्यारो जस्तो भएको छ । राम्रो कामको प्रचार भएन । अर्थ मन्त्रालय, ऊर्जा, खेलकुद मन्त्रालयबाट कतिपय राम्रा काम भएका छन् । सबै मन्त्रीले एक हप्ताभित्र भएका राम्रा र कमिभएका काम एक हप्ताभित्र हेड क्वाटरमा दिनुपर्यो । त्यसलाई चुनावमा प्रचार गर्नुपर्छ ।’
अध्यक्ष प्रचण्डले सधैँ नकारात्मक हुन नहुने भन्दै जनतामा जाँदा नेतृत्वलाई टिक्न सक्ने अवस्था नभएको पनि उल्लेख गरे ।
साथै उनले पार्टीभित्रको विवाद बाहिर नल्याउन पनि अनुरोध गरे ।
चुनावको सम्मुखमा एकले अर्कालाई गाली गर्दा नकारात्मक सन्देश कार्यकर्तामा जाने उनको डर थियो । प्रचण्डले भने, ‘एउटै पार्टीका साथी धेरै गएर भन्ने । कमिटीमा आलोचना गरौँ । बाहिर लिडरलाई स्थापित हुने गरी जानुपर्छ । चुनाव आउँदै छ एकले अर्कालाई गाली गर्दा भोट काटिन्छ ।’







