चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे


२२ असार २०७९, बुधबार


चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुई वटा चोरी सिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पछिल्लो पटक मेघौली रेञ्जपोष्ट नजिकै अन्दाजी २५ वर्षको पोथी गैँडा मृत फेला परेको छ । सो गैँडाको खागखुर सुरक्षित रहेको र घाउचोट नभएकाले प्राकृतिक कारणले मरेको हुनसक्ने निकुञ्जको अनुमान छ ।

चालु आर्थिक वर्षमा मरेका दुई गैँडामध्ये एउटाको खागखुर सिकारीले लगेका थिए भने अर्को एकको खागखुर सुरक्षित रहेको थियो । बाँकी ३४ गैँडा प्राकृतिक कारणबाट मरेका हुन् ।

तीमध्ये झन्डै आधा जुधेर मरेको तिवारीले बताए । गैँडा बुढो भएर, दलदलमा फसेर, बाघको आक्रमणमा परेर, खाडलमा परेर मरेका हुन् ।

गत आवमा ३३ वटा गैँडा प्राकृतिक कारणबाट मरेका थिए । केही वर्षअघि एकै वर्ष प्राकृतिक कारणबाट ४४ गैँडा मरेका थिए । त्यो नै हालसम्मको प्राकृतिक कारणबाट मरेका सबैभन्दा ठुलो सङ्ख्या हो । गैँडाको सङ्ख्या बढेसँगै मृत्युदर बढ्दै गएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले प्राकृतिक कारणबाट मृत्युदर घटाउन सक्ने जति प्रयास भइरहेको बताए । एकै ठाउँमा धेरै गैँडा नहोस् भन्नका लागि निकुञ्जले आन्तरिक स्थानान्तरणको योजना बनाएको छ । यससँगै वासस्थान व्यवस्थापनमा जोड दिएको छ ।

नमुना घाँसे मैदान निर्माणका लागि प्रस्ताव गरिएको उनले जानकारी दिए । गैँडा एकै ठाउँमा धेरै रहँदा जुधेर मर्ने क्रम बढेपछि फरक–फरक ठाउँमा व्यवस्थित घाँसे मैदान र पानीको स्रोत व्यवस्थापनमा निकुञ्ज जुटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस