नेविसंघद्वारा त्रिविको केन्द्रीय कार्यालयमा पुनः तालाबन्दी « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

नेविसंघद्वारा त्रिविको केन्द्रीय कार्यालयमा पुनः तालाबन्दी


१९ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा पुनः तालाबन्दी गरेको छ ।

नेविसंघले झन्डै डेढ सय दिनदेखि त्रिविको केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी बुधबार नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) का कार्यकर्ताले तोडेका थिए ।

नेविसंघले विश्वविद्यालयका प्रमुख विद्यार्थी सङ्गठनहरूले पटक-पटक ध्यानाकर्षण गराउँदा पनि विश्वविद्यालयका पदाधिकारीबाट वार्ता र संवादको ढोका बन्द भएको भन्दै पुनः तालाबन्दी गरेको हो ।

‘लाखौँ रुपैयाँ घुसपैठ गरी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) मध्ये केन्द्रीय कमान्डको लेटर प्याडमा इन्चार्ज सफलको हस्ताक्षरित नक्कली विज्ञप्ति टाँस गरी नेविसंघले लगाएको ताला फुटाउने कु-चेष्टा गर्नु आफैँमा खेदजनक छ‚’ नेविसंघले जारी गरेको विज्ञप्तिमा भनेको छ ।

बुधबार मोटरसाइकलमा आएका १५/२० जनाको समूहले उपकुलपति, रजिस्ट्रार र रेक्टरको कार्यकक्षको ढोकामा लगाइएको ताला फुटाएर गएका थिए ।

‘विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाउन ताला लगाउने कार्य कोही कसैले गरेमा कडा रुपमा जुनसुकै परिस्थितिको सामाना गर्न पनि पार्टी तयार रहेको कुरा जानकारी गराउँदछौँ’ ‘मध्य केन्द्रीय कमान्ड’ का इन्चार्ज सफलको नाममा जारी विज्ञप्तिमा भनिएको थियो ।

नेविसंघका कार्यकर्ताले केही गलत स्वार्थ र मनासय राखेर तालाबन्दी गरेको भन्दै प्रधानमन्त्री स्वयं विश्वविद्यालयको कुलपति हुँदा महिनौँदेखि ताला लगाइनु, उपकुलपतिबाट समस्या समाधान गर्न कुनै चासो नदिएकोमा क्रान्तिकारीले आपत्ति जनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस