काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा काँग्रेस र सत्तारुढ गठबन्धनको पक्षमा आएको प्रारम्भिक नतिजाले नेकपा (एमाले) अत्तालिएको बताएको छ ।
आज (सोमबार) काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले विज्ञप्ति जारी गर्दै एमाले महासचिव शङ्कर पोखरेलले हिजो (आइतबार) सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्ति दुरुपयोग गरी धाँधली गरेको भन्ने आरोपको खण्डन गरेका हुन् ।
सम्बन्धित समाचार : नेकपा एमालेको प्रश्न: हामीविरुद्ध मोर्चाबन्दीले नपुगेर धाँधली गरेको हो ?
प्रवक्ता महतले एमालेको आरोपले पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् । ‘यही वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) द्वारा नेपाल सरकार र सत्ता गठबन्धनप्रति लगाएको आरोपप्रति हाम्रो गम्भीर ध्यानाकृष्ट भएको छ । निर्वाचनमा नेपाली काँग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरूको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्ति (रुझान) ले नेकपा (एमाले) अत्तालिएको हामीले पाएका छौँ, काँग्रेसको विज्ञप्तिमा उल्लेख छ, प्रधानमन्त्री शेरबहादुर देउवाको परिपक्व, सुझबुझपूर्ण र दूरदर्शिताका कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थाको रक्षा र संविधानको संरक्षण तथा कार्यान्वयनका लागि साझेदार दलहरूका बीचमा स्थानीय तह निर्वाचनमा कतिपय ठाँउहरूमा तालमेल सम्भव भयो र अन्य ठाँउहरूमा मित्रवत् प्रतिस्पर्धा भयो ।’
‘निर्वाचन मत परिणाम स्वाभाविक आएको काँग्रेसले ठहर गरेको छ । प्रवक्ता महतले भनेका छन्, राष्ट्रहित र लोकतन्त्रको संरक्षणको उद्देश्यले भएको यो तालमेललाई गठबन्धनमा संलग्न हुनुहुने सबै राजनीतिक दलहरू र सम्बन्धित दलका नेता तथा कार्यकर्ता, शुभेच्छुक र समर्थक मतदाताहरूले विश्वास गर्नुभयो । यही विश्वासको जगमा सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको नतिजा आइरहेको छ । यसलाई हामीले स्वभाविक मानेका छौँ ।’
‘निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मीले सत्तारुढ गठबन्धनको पक्षमा धाँधली गरेको भन्नु गलत भएको भन्दै काँग्रेसले प्रतिवाद गरेको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते निर्वाचन सम्पन्न भएपछि जारी गर्नुभएको विज्ञप्तिमा समेत निर्वाचन निष्पक्ष गर्न प्रमुख भूमिका खेल्ने निर्वाचन आयोग, आयोगद्वारा परिचालित राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको छ । तर, निर्वाचनको परिणाम आफूले दाबी गरेजस्तो नआएपछि निर्वाचनको सम्पूर्ण चाँजोपाँजो मिलाउने निर्वाचन आयोग, आयोगको माग र खटनपटन अनुसार काम गर्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीलाई लिएर सरकारलाई योजनाबद्धरुपमा धाँधली गर्यो भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा हो ।’
निर्वाचन कार्यतालिकामा उम्मेदवारी दर्ताको समय दुई दिन राख्ने निर्णय निर्वाचन आयोगको हो, त्यसमा सरकार वा गठबन्धन दलको कुनै भूमिका नभएको पनि काँग्रेसले जनाएको छ ।
‘काँग्रेसले आग्रह गरेको छ, विजय र पराजय सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको स्वविवेकले गरेको मतदानमा निर्भर हुने नतिजा मात्र हो । लोकतन्त्रमा जनताको अभिमतलाई सबैले सहजरुप स्वीकार गर्नु पर्दछ । सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको विवेकको सम्मान गर्न हामी आग्रह गर्दछौँ ।’

