स्थानीय तह निर्वाचन : मुस्ताङका छ वडामा एकल उम्मेदवारी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

स्थानीय तह निर्वाचन : मुस्ताङका छ वडामा एकल उम्मेदवारी


१३ बैशाख २०७९, मंगलबार


म्याग्दी । स्थानीय तह निर्वाचनअन्तर्गत मुस्ताङको छ वटा वडामा एकल उम्मेदवारी परेको छ ।

लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको तीन–तीन वटा वडामा निर्विरोध भएको जनाइएको छ ।

लोघेकर दामोदरकुण्डका निर्वाचन अधिकृत नेपालहरि रानाभाटले १, ३ र ४ वडामा एकल उम्मेदवारी दर्ता भएको बताए ।

वडा नं १ को अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार टसीढिन्डु ठकुरीसहित चार वडा सदस्यको एकल उम्मेदवारी परेको छ ।

वडा नं ३ को अध्यक्षमा एमालेका झ्याब्याङ तेन्जिङ गुरुङसहित दुई सदस्य र नेपाली काँग्रेसबाट एक सदस्य निर्विरोध भएका छन् ।

वडा नंं ४ को वडाध्यक्षमा एमालेका झियानछुसाङ गुरुङको मात्र उम्मेदवारी दर्ता भएको छ । लोघेकरको वडा नं २ र ५ मा काँग्रेस र एमालेले सबै पदमा मनोनयन दर्ता गरेका छन् ।

चार वटा वडामा दलित महिला सदस्यमा उम्मेदवारी परेको छैन । घरपझोङ गाउँपालिका–१ मा काँग्रेसका आशबहादुर थकाली र २ मा काँग्रेसका मानबहादुर हिराचनको एकल उम्मेदवारी परेको छ ।

घरपझोङको वडा नं ५ मा एमालेका प्रदीप थकालीको एकल उम्मेदवारी परेको छ । निर्वाचन आयोगले दाबी–विरोधलगायत प्रक्रिया पूरा भएपछि मात्र एकल उम्मेदवारी परेको ठाउँमा निर्विरोध घोषणा गर्ने जनाएको छ ।

घरपझोङको १, २ र ५ मा काँग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राप्रपाबीच तालमेल भएको हो ।

माओवादीका उम्मेदवार निर्विरोध

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको वडा सदस्यमा नेकपा (माओवादी केन्द्र)का एक वडा सदस्य निर्विरोध भएका छन् ।

माओवादी केन्द्रका वडा कमिटी अध्यक्षसमेत रहेकी सीताकुमारी छन्त्याल महिला वडा सदस्यमा निर्विरोध भएकी हुन् । धवलागिरि गाउँपालिकाको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले १ नं वडाको महिला सदस्य पदमा छन्त्यालको मात्र एकल उम्मेदवारी परेकाले निर्विरोध भएको बताइन् ।

छन्त्याल निर्विरोध भएसँगै माओवादीले स्थानीय तह चुनावमा मतदान नहुँदै म्याग्दीमा खाता खोलेको छ । छन्त्याल निर्विरोध हुने जिल्लाको एक मात्र उम्मेदवार बनेकी छन् । धवलागिरिको स्थानीय तह निर्वाचनका लागि ३७ पदमा ८९ जनाको उम्मेदवारी परेको छ ।

मुनास्थित निर्वाचन अधिकृतको कार्यालयमा सोमबार राति ११ बजेसम्म मनोनयन दर्ता गरिएको थियो ।

गाउँपालिका अध्यक्षमा पाँच, उपाध्यक्षमा तीन, वडाध्यक्षमा २० र वडा सदस्यमा ५३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत भोलाराज रेग्मीले बताए।

गाउँपालिका अध्यक्षमा एमालेका थमसरा पुन, काँग्रेसका प्रेमप्रसाद पुन, नेकपा (एकीकृत समाजवादी)का बमबहादुर पाइजा, राप्रपाका होमबहादुर थापा र नेशनल मङ्गोल अर्गनाइजेशनका सकबहादुर पुन मगरले मनोनयन दर्ता गरेका छन् ।

उपाध्यक्षमा एमालेका प्रगति कार्की, नेकपा (माओवादी केन्द्र)का रेशम पुन र मङ्गोल नेशनल अर्गनाइजेशनका खममाया रोकाको मनोनयन दर्ता भएको छ ।

थमसरा पुन एमालेबाट दोस्रो पटक धवलागिरिको अध्यक्षमा उम्मेदवार बनेका हुन् । एमालेका जिल्ला उपसचिवसमेत रहेकी पुन गत स्थानीय तह चुनावमा पनि एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

धवलागिरिमा काँग्रेस र माओवादीले वडा तहसम्मनै तालमेल गरेका छन् । गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका प्रेमप्रसाद पुन काँग्रेसको धवलागिरि गाउँपालिका सभापति हुन् ।

गाउँपालिका अध्यक्षमा एमालेबाट आकाङ्क्षी रहेका होमबहादुर थापाले राप्रपाबाट टिकट लिएर अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

थापा गत पुसमा भएको एमालेको पालिका अधिवेशनबाट धवलागिरि गाउँपालिका कमिटीको अध्यक्षमा निर्वाचित भएका थिए ।

एमालेले धवलागिरिको अध्यक्षमा पुन र उपाध्यक्षमा कार्कीलाई सोमबार बिहान मात्र उम्मेदवार छनोट गरेको थियो ।

उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै थापा राप्रपा प्रवेश गरेर अध्यक्षको उम्मेदवार बनेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस