काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को जारी आठौँ महाधिवेशनमा आज (शुक्रबार) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै छन् ।
दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।
त्यसअघि बन्दसत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत हुनेछन् । ती प्रतिवेदन पारित भएसँगै प्रचण्डले जवाफ दिनेछन्। प्रचण्डको जवाफपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ।
निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले विधान संशोधन प्रस्ताव हलबाट अनुमोदन भएपछि संशोधित विधान अनुसार केन्द्रीय समिति चुन्न निर्वाचन प्रक्रिया सुरु हुने जानकारी दिए ।
माओवादी विधानमा बन्द सत्रबाट केन्द्रीय समिति निर्वाचित हुने र केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने प्रावधान छ ।