काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) शेयर बजारमा राम्रो वृद्धि हुँदा नेप्से परिसूचक २६ सय नजिक पुगेको छ भने कारोबार रकममा पनि सुधार भएको छ ।
शेयर कारोबार मापक नेप्से परिसूचक ७१ दशमलव २१ अङ्कले बढेर २ हजार ५ सय ९१ दशमलव ४२ अङ्कमा पुगेको छ । शेयर कारोबार रकम पनि ५ अर्ब माथि पुगेको छ ।
दिनभर भएका ८६ लाख १ हजार ९ सय ५६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ ।
आइतबार ३० वटा बिमा कम्पनीहरुको शेयर मूल्य सर्किट लेभलमा नै कारोबार भएको छ । सबैभन्दा धेरै शेयर मूल्य बढ्नेमा नेशनल लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, एभरेस्ट इन्स्योरेन्स, प्रिमियर इन्स्यारेन्स, प्रुडेन्सीयल इन्स्योरेन्स लगायतका कम्पनीहरुको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।