काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तरगत आज भएको निर्वाचनमा अहिलेसम्म आठ सय मत खसेको छ ।
निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठका अनुसार तीन बजेसम्म आठ सय मत खसेको हो ।
भृकुटीमण्डप परिसर, भृकुटीमण्डप प्रदर्शनी कक्ष र राष्ट्रियसभा परिसर गरी ३ स्थानमा मतदान भइरहेको छ ।
राष्ट्रिय सभागृहमा केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ एवं शुभेच्छुक संस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्दै छन् ।
भृकुटीमण्डप परिसरमा प्रदेश २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान केन्द्र तोकिएको छ । त्यस्तै प्रदर्शनी कक्षमा प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्दै छन् ।
निर्वाचन समितिले २९ प्रकारका मतपत्र तयार गरेको छ । सबै मतपत्रका लागि अलग-अलग मतपेटिका राखिएको छ ।
सभापतिसहित १३४ पदका लागि ४९१ जना चुनावी मैदानमा छन् । काँग्रेसमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दै छन् ।