इतिहास रच्दै न्युजिल्यान्ड टी–२० विश्वकपको फाइनलमा प्रवेश « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

इतिहास रच्दै न्युजिल्यान्ड टी–२० विश्वकपको फाइनलमा प्रवेश


२५ कार्तिक २०७८, बिहिबार


आबुधावी । न्युजिल्यान्ड पहिलो पटक टीट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति आबुधावीमा भएको सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई पाँच विकेटले पराजित गर्दै न्युजिल्यान्ड उपाधि नजिक पुगेको हो।

आबुधावीको शेख जायद स्टेडियममा इङ्ल्यान्डले दिएको एक सय ६७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर जित निकालेको थियो। न्युजिल्यान्डलाई फाइनलमा पुर्‍याउन ड्रियल मिचेलले अर्धशतकीय पालि खेलेका थिए।

आक्रामक ब्याटिङ गरेका उनले ४७ बलमा चार छक्का र चार चौकाको मद्दतमा अविजित ७२ रन बनाए। १३ रनमा दुई महत्वपूर्ण विकेट गुमाएको न्युजिल्यान्डलाई मिचेल र डेभोन कनवेले सम्हालेका थिए। उनीहरूले ८२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। मिचेलले ७२ रन बनाउँदा कनवेले ४६ रनको पालि खेले। यस्तै जेम्स निसमले २७, मार्टिन गप्टिलले चार र कप्तान केन विलियम्सनले पाँच रनको योगदान दिए। इङ्ल्यान्डका क्रिस वोक्स र लाइम लिभिङटनले दुईरदुई विकेट लिए। यस्तै अदिल रसिदले एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ६६ रनको योगफल खडा गरेको थियो। इङ्ल्यान्डका मोइन अलीले अर्धशतकीय पालि खेलेका थिए। ३७ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा उनले अविजित ५१ रन बनाए। यसैगरी डाविड मालनले ४१, जोस बटलरले २९, लाइम लिभिङटनले १७ र जोनी बेयरस्टोले १३ रन बनाए। न्युजिल्यान्डका टिम साउथी, एडम मिल्ने, इश सोधी र जेम्स निसमले एकरएक विकेट हात पारे।

न्युजिल्यान्ड टीट्वेन्टी विश्वकपमा पहिलो पटक फाइनलमा पुगेको हो। यसअघिका संस्करणमा न्युजिल्यान्ड सेमिफाइनलबाट अगाडि बढ्न सकेको थिए। न्युजिल्यान्ड समूह दुईको उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो। एकदिवसीय विश्वकप विजेता इङ्ल्यान्ड समूह एकबाट विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो।

टीट्वेन्टी विश्वकपअन्तर्गत बिहीबार पाकिस्तान र अस्ट्रेलियाबीच दोस्रो सेमिफाइनल खेल हुनेछ। दुबईमा हुने खेल साँझ ७ः४५ मा सुरु हुनेछ। पाकिस्तान समूह दुईको विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने अस्ट्रेलिया समूह एकमा दोस्रो स्थान हात पार्दै अन्तिम चारमा स्थान बनाएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस