काठमाडौँ । हुम्लामा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ ।
गए राति ९ बजेतिर खार्पुनाथ गाउँपालिका–५ खर्पैल गाउँमा रहेको स्थानीय धनवीरे शाहीको घर पहिरोले पुरेको हो ।
पहिरोमा परेर ७० वर्षीया धनवीरेसहित परिवारका ६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए ।
धनविरेकी छोरी आशा शाही, ज्वाइँ कलबहादुर शाहीको पनि पहिरोमा परेर मृत्यु भएको छ ।
कलबहादुरका तीन जना छोरा १३ वर्षीय अलिन्द्र शाही, ५ वर्षीय हुमेश शाही र ३ वर्षीय जसबहादुर शाहीको पनि मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।
२० मिटर माथिबाट आएको पहिरोले घर पुरेको हो ।
घटनामा मृत्यु भएका चार जनाको शव निकालिएको छ भने २ जनाको निकाल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।