काठमाडौँ । कोभिड–१९ का नयाँ सङ्क्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ सङ्क्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार असोज पहिलो साता पीसीआर परीक्षण गर्दा ५ हजार ८ सय ३९ मा सङ्क्रमण देखिएको छ । तीमध्ये ८ सय १२ जना अर्थात् १३.९० प्रतिशतले पूर्ण वा एक डोज लगाएका थिए ।
सङ्क्रमणका कारण मृत्यु हुनेहरूमा खोप लगाएकाको सङ्ख्या पनि निकै कम छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार असोज ७ मा सङ्क्रमणका कारण १३ जनाको मृत्यु भएको थियो । जसमध्ये एक जना पनि खोप लगाएका सङ्क्रमित थिएनन् । ‘कोभिडको दोस्रो लहर उत्कर्षमा पुगेका बेला अस्पतालमा भर्ना हुने अधिकांशले खोप नलगाएका थिए,’ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका डा। अच्युत कार्कीले भने, ‘हाल वीरमा भर्ना हुन आउने सङ्क्रमितमध्ये करिब ६० प्रतिशत खोप नलगाएका र अरू खोप लगाएका होलान् ।’
खोप लगाएकामा सङ्क्रमण छिटो निको हुने देखिएको छ । डा. कार्कीले खोप लगाएकाहरू सङ्क्रमण भए अस्पताल भर्ना हुँदा दुई/तीन दिनमै डिस्चार्ज हुने गरेको बताए । त्यस्ता सङ्क्रमितमा मृत्युदर पनि अत्यन्त न्यून छ । ‘खोप लगाएकामा रोगको जटिलता खासै देखिएको छैन,’ ईडीसीडीका निर्देशकसमेत रहेका मन्त्रालयका प्रवक्ता डा. पौडेलले भने, ‘देशभरका अस्पतालमा बुझ्दा खोप लगाएकाहरूको मृत्यु नगण्य छ ।’ राष्ट्रिय क्षयरोग केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाह खोपले सङ्क्रमण हुनबाट जोगाउन नसके पनि ज्यान बचाउने बताउँछन् । ‘नेपाललगायत विश्वभरमा पूर्ण खोप लगाएकाहरूमा गम्भीर अवस्था र मृत्युको खतरा अत्यन्त न्यून देखिएको छ,’ उनले भने ।
खोप लगाएकामा समेत सङ्क्रमण देखिनुलाई चिकित्सकहरू ‘ब्रेक थ्रु इन्फेक्सन’ का रूपमा बुझ्नुपर्ने बताउँछन् । उनीहरूको भनाइमा यस्तो सङ्क्रमण खोप लगाएको दुई सातापछि देखिन सक्छ । खोप लगाएकाहरूमा देखिने ‘ब्रेक थ्रु इन्फेक्सन’ को असर कम भए पनि अन्य सङ्क्रमणजस्तै यसको ‘साइड इफेक्ट’ भने हुन सक्ने डा. पौडेलले बताए । ‘खोप लिइसके पनि देखिने सङ्क्रमणका लागि मुख्य जिम्मेवार हाल छ्यापछ्याप्ती देखिएको डेल्टा भेरिएन्ट नै हो,’ उनले भने ।
शनिबारसम्म पहिलो डोज ६५ लाख २८ हजार ३ सय ९२ र पूर्ण खोप ६० लाख १४ हजार ९ सय ४१ जनाले लिएका छन् । मन्त्रालयका अनुसार हालसम्म १८ वर्षमाथिका लक्षित जनसङ्ख्यामध्ये ३० प्रतिशतले पहिलो र २७.६ प्रतिशतले दोस्रो डोज खोप लगाइसकेका छन् ।







