काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको खोप कार्यक्रम स्थगित हुने भएको छ । गएको मङ्गलवारदेखि महानगरको ३२ वटै वडामा सञ्चालन हुँदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराएको भन्दै स्थगित भएको हो ।
काठमाडौँ महानगर सहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य सेवा विभागबाट काठमाडौँ महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भनेपछि जारी कार्यक्रम बाध्य भएर रोक्नु परेको बताएका छन् ।
गत हप्ता मित्रराष्ट्र चीनले उपलब्ध गराएको १० लाख डोज खोप सहयोगलाई सरकारले देशैभरि ६० वर्षभन्दा माथि ६४ वर्ष सम्म उमेर समूहका व्यक्तिलाई लगाउने कार्यक्रम बनाएको थियो ।
कार्यक्रम अनुसार काठमाडौँ महानगरले गएको मङ्गलवारदेखि पाँच दिनसम्म उमेर समूह अनुसार दिन तोकी खोप कार्यक्रमको तालिका नै सार्वजनिक गरेको थियो । महानगरले बिहीबारसम्म करिब २८ हजार जनालाई खोप लगाएको बताएको छ ।