डडेल्धुरा । डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । घटनामा थप ३२ जना घाइते भएका छन् ।
कैलालीबाट अछाम जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।
दुर्घटनामा परी मृत्यु भएकाको सनाखत हुन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेको अहिले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए ।
बस सडकबाट ३० मिटर तल खसेको थियो । वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
सम्बन्धित समाचार : धनगढीबाट अछामका लागि छुटेको बस डोटीमा दुर्घटना
तस्विर : गणेश मौनी (डोटी संवाददाता)