गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–८ बुङकोटस्थित सुनपानीमा खागले टोकेर छ जना घाइते भएका छन् । बुधबार दिउँसो जङ्गलमा गोठाला गएका र घाँसदाउरा काट्न गएका स्थानीय दीपा घर्तीमगर, प्रतिमा अम्गाईँ र बुद्धिराम श्रेष्ठलाई शुरुमा खागले टोकेको वडाध्यक्ष काशीनाथ अम्गाईँले जानकारी दिए।
बाटोमा हिँडिरहेका बेला सोही ठाउँका इन्दिरा अम्गाईँ र उनकी तीन वर्षकी छोरीलाई पनि खागले टोकेर घाइते बनाएको उनले बताए । इन्दिराले आफूहरुलाई खागले टोकेको फोनमार्फत जानकारी गराएपछि उद्धारका लागि पुगेका उनका बाबु लोलानाथ अम्गाईँलाई पनि खागले टोकेर घाइते बनाएको वडाध्यक्ष अम्गाईँले जानकारी दिए ।
गम्भीर घाइते चार जनाको गोरखा अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको बुङकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताए ।
पटका पड्काँउदा घाइते
गोरखाको शहीद लखन गाउँपालिका–७ स्थित गरन्जागाउँमा पटका पड्काउँदा एक युवक घाइते भएका छन् । घाइते युवकको हातको औँला चुँडिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले जानकारी दिए ।
बुधबार साँझ करिब साढे ७ बजेको समयमा घरमा राखिएको पटका हातमा राखेर खेलाउने क्रममा पड्किएर २० वर्षीय अनिल थापा घाइते भएको एसपी अधिकारीले बताए ।







