काठमाडौँ । हेटौँडा–काठमाडौँ रज्जुमार्ग पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ । बिगत दुई दशकदेखि बन्द रहेको रज्जुमार्ग पुनः सञ्चालनका लागि अध्ययन थालिएको हो ।
२०५६ सालदेखि पूर्ण रूपमा बन्द रहेको हेटौँडा–काठमाडौँ सामान ढुवानीको भरपर्दो साधनका रूपमा रहेको ‘रोपवे’लाई बागमती प्रदेश सरकारले पुनः सञ्चालनमा ल्याउने तयारी थालेको हो ।
मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा–काठमाडौँ रज्जुमार्ग पुनः सञ्चालनमा ल्याउने तयारी सुरु गरिएको जानकारी दिएका छन् । उनले यसलाई यातायात तथा ढुवानीको इतिहाससँग समत जोडिएको बताएका छन् । उनले पर्यटकीय दृष्टिकोणले समते यो प्रभावकारी रहेको भन्दै अध्ययन पछि प्रतिवेदन अनुसार काम अगाडि बढाइने बताए ।
एसियाकै पुरानो यो रोपवे पहिलो पञ्चवर्षीय योजना (२०१३–१८) अन्तर्गत निर्माण गरिएको थियो ।
हेटौँडादेखि काठमाडौँसम्म यसको कुल लम्बाइ ४२.२ किलोमिटर रहेको छ । यो २०५६ सालमा बिग्रिएको थियो । पुनः मर्मत गर्न चार लाख रुपियाँ मात्रै लाग्ने भएपनि मर्मत सम्भार हुन नसक्दा बन्द भएको थियो ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले २०५९ सालमा यसलाई खारेज नै गरेको थियो ।







