भद्रपुर । राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्म जयन्तीको अवसरमा यही कात्तिक २५ गते झापाको कमल गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाका प्रशासकीय अधिकृत सुवास श्रेष्ठले गाउँपालिका क्षेत्रभित्रका सबै सामुदायिक, संस्थागत विद्यालय र स्वास्थ्य संस्थामा स्थानीय बिदा दिइने निर्णय गरेको आज सूचना जारी गरेका छन् ।
किराँत धर्मावलम्बीको महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा भएको थियो भने विसं २००५ चैत २२ गते पाँचथरको सिलौटीमा उनले देहत्याग गरेका थिए ।
किराँत समुदायमा माँसाहारी, मदिरापान र सुर्तीसेवन बन्द गराउन दिएको सन्देशका कारण उनलाई महान् समाज सुधारक मानिएको छ । उनको योगदानको सम्मानमा नेपाल सरकारले २०६६ मङ्सिर १६ गते विभूति घोषणा गरेको छ ।