काठमाडौँ । ‘नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको कोरला नाका खुलाउन सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ ।
सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले उक्त नाका पुग्ने बेनी–जोमसोम–कोरला सडक खण्डको स्थलगत निरीक्षणको क्रममा सो नाका छिटोभन्दा छिटो खुल्ने गरी सडकलगायतका पूर्वाधार निर्माणको काममा तीव्रता दिन सरकारलाई निर्देशन दिएको हो ।
समितिका सभापति कल्याणी खड्काले ‘नेपाल भ्रमण वर्ष-२०२०’ अघि नै यो नाका खुलाउने गरी पूर्वाधार निर्माणको कामलाई तीव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिइन् । सभापति खड्काले पुलको डिजाइनसमेत नभएका कारण सरकार कोरला नाका खुलाउन गम्भीर नभएको हो कि भन्ने आशङ्का बढेको बताइन् ।
समितिले सो नाकासँग जोडिएको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक खण्ड निर्माण कार्य पनि अति सुस्त भएको निष्कर्ष निकाल्दै ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्न पनि सरकारलाई निर्देश गरेको छ ।
त्यसै गरी सो सडक खण्ड निर्माणका लागि विस्फोटक पदार्थको तत्काल व्यवस्था गरिदिन पनि सरकारलाई निर्देशन दिनुपर्ने अवस्था देखिएको पनि स्थलगत भ्रमणका क्रममा समितिका सभापति खड्काले बताइन् ।
राष्ट्रिय गौरवको यो आयोजनालाई सरकारले उच्च प्राथमिकता दिन नसकेको समितिको बुझाइ रहेको छ । संसदीय समितिले सो सडक खण्डमा पर्ने पुल निर्माणका लागि हालसम्म डिजाइनको कामसमेत नभएकोमा पनि असन्तुष्टि जनाएको छ । समितिले एक हप्ता अघि बेनी–जोमसोम–कोरला सडकको स्थलगत अनुगमन गरेको थियो ।







