बैतडी । पाटन–मेलौली सडकखण्डको पाटन–६ लोर्खामा शनिबार बिहान बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
महेन्द्रनगरबाट मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नम्बरको बस शनिबार बिहान ३ बजे दुर्घटना भएको हो।
दुर्घटनामा घाइतेमध्ये कञ्चनपुरको भिमदत्त नगरपालिकाका ३३ वर्षीया सीदेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड, ५५ वर्षीय भारतीय नागरिक जगतसिंह चौहान र गाडीका सहचालक डडेल्धुराका २७ वर्षीय केशव साउद गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।
प्रहरीका अनुसार गम्भीर भएका सातैजनालाई जिल्लाबाहिर रेफरको गरिएको छ। अन्य घाइतेको अवस्था सामान्य छ। बसका चालक फरार छन्। दुर्घटनाको कारण सडकमा रहेका खाल्डाखुल्डी रहेको बताइएको छ ।
बसमा ३० यात्रु सवार थिए। बस सडकभन्दा १० मिटर तल खसेको छ।







