काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि सरकारी अस्पतालहरूको सेवा प्रवाह, व्यवस्थापन र सेवा गुणस्तर सुधारको अवस्थाबारे अनुगमनलाई तीव्रता दिइएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाको नेतृत्वमा आइतबार वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अस्पताल सुधार कार्यक्रमअन्तर्गत भएका प्रगतिका विषयमा स्थलगत अनुगमन गरिएको मन्त्रालयले जनाएको छ।
अनुगमनका क्रममा अस्पतालहरूमा स्वास्थ्य सेवा प्रवाह, सेवाग्राही सहजीकरण, भीड व्यवस्थापन, सरसफाइ तथा व्यवस्थापकीय पक्षको मूल्याङ्कन गरिएको छ। मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सञ्चालनमा रहेको सुलभ फार्मेसी प्रभावकारी देखिएको छ, जसबाट सेवाग्राहीले गुणस्तरीय औषधि सहज र सुलभ मूल्यमा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
मन्त्री मेहताको निर्देशनअनुसार राष्ट्रिय ट्रमा सेन्टरले सोमबारदेखि सुलभ फार्मेसी सञ्चालनमा ल्याउने तयारी गरेको छ भने वीर अस्पतालमा पनि यही साताभित्र सेवा सुरु गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ।
अनुगमनका क्रममा अस्पतालहरूले उपलब्ध गराउँदै आएको १० प्रतिशत नि:शुल्क सेवा, सरसफाइ, भीड व्यवस्थापन तथा सेवा प्रभावकारिताको अवस्थासमेत समीक्षा गरिएको छ। आवश्यक सुधारका कार्य तत्काल कार्यान्वयन गर्न सम्बन्धित अस्पताल प्रशासनलाई निर्देशन दिइएको मन्त्रालयले उल्लेख गरेको छ।
वीर अस्पतालले केडी जोशी बर्न युनिटको सेवा थप स्तरीय बनाउन आवश्यक सुधारका काम अघि बढाएको तथा बर्न उपचारमा संलग्न स्वास्थ्यकर्मी र कर्मचारीलाई आवश्यक तालिम प्रदान गरिरहेको पनि अनुगमनबाट देखिएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सेवाग्राहीको चाप व्यवस्थापन गर्न सेवा काउन्टरको संख्या तीनबाट पाँच पुर्याइएको छ। साथै, औषधिको उपलब्धताबारे क्युआर प्रणालीमार्फत जानकारी प्राप्त गर्ने व्यवस्था गरिएको छ। वीर अस्पताल र ट्रमा सेन्टरमा भने बिरामीले आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पनि क्युआर प्रणालीमार्फत प्राप्त गर्न सक्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सरकारी अस्पतालहरूमा कर्मचारीको सेवामुखी व्यवहार अभिवृद्धिका लागि सफ्ट स्किलसम्बन्धी तालिमसमेत सञ्चालन भइरहेको छ। सेवा गुणस्तर सुधार, सेवाग्राहीमैत्री वातावरण निर्माण तथा स्वास्थ्य सेवामा नागरिकको पहुँच थप प्रभावकारी बनाउन यस्ता अनुगमनलाई निरन्तरता दिइने मन्त्रालयले जनाएको छ।







