काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन इतर समूहद्वारा वीरेन्द्रनगरमा आयोजित दुई प्रदेशस्तरीय भेला आइतबार सम्पन्न भएको छ।
भेलामा ‘नेपाली काँग्रेसको बृहत्तर एकता र भावी कार्यदिशा’ विषयमा छलफल गरिएको थियो। कार्यक्रम पूर्णबहादुर खड्काको उपस्थितिमा सम्पन्न भएको हो।
भेलाको निष्कर्ष स्वरूप समूहले ‘बृहत्तर एकता र भावी कार्यदिशाका लागि १० सूत्र’ शीर्षकमा धारणा पत्र सार्वजनिक गरेको छ।
सार्वजनिक अवधारणा पत्रमा आगामी १५औँ महाधिवेशनलाई एकताको आधारमा सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ। साथै पार्टी सभापति गगन थापाले शीर्ष नेता तथा पूर्वपदाधिकारीहरूसँग निरन्तर संवाद अघि बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ।
धारणा पत्रमा यसअघि नवीकरण भइसकेका क्रियाशील सदस्यहरूको महाधिवेशनमा सहभागिता सुनिश्चित गर्नुपर्ने विषयसमेत समेटिएको छ।
त्यसैगरी केन्द्रीय अनुशासन समितिमार्फत गरिएका कारबाही तथा सोधिएका स्पष्टीकरण फिर्ता लिनुपर्ने माग पनि राखिएको छ।
भेलाले ‘कदमजम’ अवधारणालाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै पार्टीका सबै तहमा कम्तीमा २५ प्रतिशत युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ।
धारणा पत्रमा समसामयिक राष्ट्रिय राजनीतिक घटनाक्रम, युवापुस्तासँग सम्बन्धित गतिविधि तथा ‘जेन जेड’ आन्दोलनसँग जोडिएका विषयहरू पनि समावेश गरिएको जनाइएको छ।









