काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको पहिलो बैठकमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको अनियमितताको विषयमा छलफल भएको छ।
मंगलबार बसेको समितिको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले विमानस्थल निर्माण प्रक्रियामा भएको भनिएको अनियमितताबारे प्रश्न उठाएकी हुन्।
यसअघि प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा पनि सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणसम्बन्धी विषयमा अध्ययन तथा छानबिन गरेको थियो। त्यतिबेला राप्रपाका नेता राजेन्द्र लिङ्देनको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो।
उक्त संसदीय उपसमितिले ११ वटा विभिन्न शीर्षकमा अनियमितता भएको निष्कर्षसहित प्रतिवेदन तयार पारेको थियो।
हाल सो प्रकरण विशेष अदालतमा विचाराधीन छ। पोखरा विमानस्थल निर्माणसँग सम्बन्धित अनियमितताको आरोपमा एक पूर्वमन्त्री, चार पूर्व सचिव, एक बहालवाला सचिवसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, तत्कालीन अर्थ सचिव शंकरप्रसाद अधिकारी तथा निर्णय प्रक्रियामा संलग्न अन्य अधिकारी र निर्माण कम्पनीविरुद्ध ३ अर्ब ६२ करोड ५ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।
आयोगले मूल सम्झौता विपरीत कर छुट दिँदा राज्यलाई ठूलो आर्थिक नोक्सानी पुगेको अभियोग लगाएको छ। मुद्दामा चिनियाँ निर्माण कम्पनी सीएएमसी इन्जिनियरिङ र कम्पनीका दुई प्रतिनिधिलाई पनि मतियारका रूपमा समावेश गरिएको छ।
२१ फागुनको निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिको पहिलो बैठकमै यो विषय उठाइएको हो।







