काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, अनुभव र सीपलाई नयाँ पुस्तासम्म प्रभावकारी रूपमा पुर्याउनु अहिलेको प्रमुख चुनौती भएको बताएका छन्।
मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘ज्येष्ठ नागरिकको ज्ञान र सीप हस्तान्तरण’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा बोल्दै उनले बदलिँदो सामाजिक परिवेशमा ज्येष्ठ नागरिकको भूमिका र सम्मानलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए।
उनका अनुसार ज्येष्ठ नागरिकहरू समाजका महत्वपूर्ण सम्पत्ति तथा ज्ञानका स्रोत हुन्। वर्तमान सामाजिक परिवर्तनका कारण उनीहरूले भोग्नुपरेको अवस्था सुधार गर्नुपर्ने उल्लेख गर्दै उनले ज्येष्ठ नागरिकको सम्मान, संरक्षण र सामाजिक सुरक्षामा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए।
पोखरेलले पुराना पुस्तासँग रहेको अनुभव, विचार र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले प्रतिष्ठानले विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए। यस्ता कार्यक्रम संघीय सरकार, स्थानीय तह तथा विभिन्न सामाजिक संघ-संस्थासँगको सहकार्यमा अघि बढाइने उनले बताए।
उनका अनुसार प्रतिष्ठानले ज्येष्ठ नागरिक केन्द्रित कार्यक्रमसँगै प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवर्द्धनमा पनि काम गर्नेछ। सामाजिक सुरक्षा र ज्येष्ठ नागरिकको सक्रिय सहभागिता सुनिश्चित गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिने उनले स्पष्ट पारे।
नेता पोखरेलले मनमोहन स्मृति प्रतिष्ठानलाई प्रदेश तथा जिल्ला तहसम्म विस्तार गर्ने योजना रहेको जानकारी दिँदै लोकतान्त्रिक र वामपन्थी आन्दोलनमा योगदान पुर्याएका व्यक्तित्वहरूको विचार तथा अनुभवलाई नयाँ पुस्तासम्म पुर्याउने लक्ष्य रहेको बताए।







