काठमाडौँ । विभिन्न सरकारी कार्यालयमा गरिएको छड्के निरीक्षणका क्रममा देखिएका अनुशासनहीनता र समय पालन सम्बन्धी कमजोरीका आधारमा राष्ट्रिय सतर्कता केन्द्रले ६३२ कर्मचारीमाथि कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ ।
केन्द्रका अनुसार सेवा प्रवाह बढी हुने कार्यालयहरूलाई लक्षित गरी गरिएको अनुगमनका क्रममा कार्यालय समयमा अनुपस्थित रहने तथा कार्यसम्पादनमा लापरबाही देखाउने कर्मचारीहरू पहिचान गरिएको हो ।
सोही आधारमा उनीहरूमाथि प्रशासनिक कारबाहीको प्रक्रिया अघि बढाउन सिफारिस गरिएको जनाइएको छ ।
केन्द्रका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार सिफारिस गरिएका कर्मचारीहरूलाई प्रचलित निजामती सेवा ऐनअनुसार सम्बन्धित कार्यालय प्रमुखले चेतावनी पत्र जारी गर्ने व्यवस्था रहनेछ । त्यस्ता चेतावनीको अभिलेख सम्बन्धित कार्यालयमै सुरक्षित राखिनेछ ।
ऐनअनुसार दुई पटकसम्म चेतावनी पाइसकेका कर्मचारीमाथि थप विभागीय कारबाही हुने प्रावधान रहेको पनि उनले स्पष्ट पारे । अनुगमनका क्रममा समय पालन नगर्ने कर्मचारीलाई प्राथमिक रूपमा कारबाहीका लागि सिफारिस गरिएको हो ।
केन्द्रले केही कर्मचारीमाथि आवश्यक कारबाही अघि बढिसकेको जानकारी समेत प्राप्त भएको जनाएको छ । साथै, दैनिक रूपमा सेवा प्रवाह हुने कार्यालयहरूमा नियमित छड्के अनुगमन जारी रहेको छ ।
प्रदेश तहमा समेत निगरानी विस्तार गर्दै केन्द्रले प्रत्येक प्रदेशका एक-एक जिल्लामा विशेष अनुगमन अभियान सञ्चालन गरिरहेको छ । जनसम्पर्क बढी हुने सरकारी कार्यालयहरूमा केन्द्रित अनुगमन अझ तीव्र पारिएको जनाइएको छ ।







