काठमाडौँ । सरकारी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा दायर गरिएको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत नापी अधिकृतका परिवारविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
अख्तियारका अनुसार, नापी कार्यालय चन्द्रगढी, झापाका तत्कालीन प्रमुख नापी अधिकृत स्वर्गीय शशीकान्त झासहितका प्रतिवादीहरूले झापाको साबिक दमक नगरपालिका क्षेत्रमा रहेको सरकारी सार्वजनिक जग्गा अनियमित रूपमा व्यक्तिको नाममा दर्ता गराएका थिए। उक्त कार्यबाट राज्यलाई एकचालीस करोड बासठ्ठी लाख उन्नाइस हजार आठ सय एक रुपैयाँ पचहत्तर पैसा बराबरको हानी नोक्सानी पुगेको ठहर गरिएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उक्त कसुरमा कैद तथा बिगोबमोजिम जरिवाना मागदाबी गर्दै विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको थियो। तर, मुद्दा विचाराधीन रहेकै अवस्थामा प्रतिवादी शशीकान्त झाको २०७५ पुस ७ गते निधन भयो।
कानुनी व्यवस्थाअनुसार मृत व्यक्तिको हकमा समेत बिगो असुल उपर गर्न सकिने प्रावधान रहेकाले झाले जीवित अवस्थामा पुर्याएको हानी असुल गर्न उनका परिवार सदस्यलाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ। सोही आधारमा झाकी श्रीमती अनार देवी झासमेतलाई प्रतिवादी बनाइएको हो।
विशेष अदालतले २०८२ साउन २८ गतेको फैसलामा आंशिक सफाइ दिएकोमा उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।







