काठमाडौँ । नेपाली काँग्रेसको अनुशासन समितिले नेता पूर्णबहादुर खड्कालाई अनधिकृत रूपमा वक्तव्य जारी गरेको विषयमा सचेत गराएको छ।
समितिको हालै बसेको बैठकले खड्कालाई भविष्यमा यस्ता कार्य दोहोरिएमा कारबाही अघि बढाइने चेतावनी दिएको हो।
खड्काले कार्यवाहक सभापतिको हैसियत दाबी गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा विज्ञप्ति सार्वजनिक गरेका थिए। उक्त कार्यलाई पार्टीको आधिकारिक प्रक्रियाबाहिरको भन्दै अनुशासन समितिले आपत्ति जनाएको छ।
समितिका सचिव दिनेश थापा मगरद्वारा जारी सूचनामा पार्टीको नाममा नक्कली लेटरप्याड प्रयोग गरी आफूमा नभएको जिम्मेवारी उल्लेख गर्दै वक्तव्य जारी गर्नु गलत भएको उल्लेख गरिएको छ।
त्यसैगरी, यस्ता गतिविधि दोहोरिएमा पार्टीको विधान तथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने निर्णय गरिएको जनाइएको छ।







