काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा विभिन्न समयमा चोरी भएका दुईपाङ्ग्रे सवारीसाधनमध्ये ५० वटा फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ। ट्राफिक प्रहरीको समन्वयमा खोजतलासपछि मोटरसाइकल र स्कुटरहरू फिर्ता गरिएको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा ती सवारीसाधन औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार २७ वटा मोटरसाइकल र २३ वटा स्कुटर सम्बन्धित धनीलाई बुझाइएको छ।
प्रहरीका अनुसार विभिन्न माध्यमबाट प्राप्त उजुरी तथा सूचनाका आधारमा खोजी कार्य अघि बढाइएको थियो। खोजतलासका क्रममा केही सवारीसाधनमा वास्तविक नम्बर प्लेट प्रयोग गरिएको भेटिएको भने केहीमा नक्कली नम्बर प्लेट प्रयोग गरी लुकाइएको अवस्थामा फेला परेको जनाइएको छ। काठमाडौँ उपत्यकाका काडाँघारी, स्वयम्भू, दरबारमार्ग, चापागाउँ, नेपालटार, नयाँ बसपार्क, बालकुमारी, लोकन्थली, बसन्तपुर, कालिमाटी, बौद्ध, गोकर्ण, मुलपानी, सुकेधारा, सुन्दरीजल, थानकोट, सोह्रखुट्टे, कपन, चागललगायत क्षेत्रबाट ती सवारीसाधन बरामद गरिएको हो।
गत साउनयता हालसम्म ट्राफिक प्रहरीले कुल ३४७ वटा चोरी तथा हराएका सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता गरिसकेको छ। त्यस्तै, चोरीमा संलग्न १८ वटा सवारीसाधन सहित ३१ जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित प्रहरी इकाइमा पठाइएको छ।
सवारी फिर्ता पाएपछि सेवाग्राहीहरूले खुसी व्यक्त गर्दै ट्राफिक प्रहरीलाई धन्यवाद व्यक्त गरेका थिए। कार्यक्रममा खोजतलास शाखामा कार्यरत प्रहरी नायव निरीक्षक गोपाल तामाङलाई हराएका सवारीसाधन फेला पार्ने कार्यमा योगदान पुर्याएको भन्दै प्रशंसा पत्र प्रदान गरिएको थियो।
ट्राफिक प्रहरीले सवारीसाधन चोरी तथा हराउने जोखिम न्यूनीकरणका लागि सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्यान्डल लक, डिस्क लक तथा साइरन जस्ता सुरक्षा उपाय अपनाउने, आवश्यक परे जिपिएस जडान गर्ने तथा सुनसान र एकान्त स्थानमा पार्किङ नगर्न सुझाव दिएको छ।
सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३, नेपाल प्रहरीको हटलाइन १०० मा सम्पर्क गर्न वा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने व्यवस्था रहेको पनि कार्यालयले जनाएको छ।







