काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ कार्यरत ११ सय बढी प्रहरी सहायक निरीक्षक (असई)हरूको सरुवा गरेको छ। मानवश्रोत विकास विभागअन्तर्गत कर्मचारी प्रशासन शाखाले १ हजार १ सय २४ जनाको सरुवा गरिएको जानकारी दिएको हो।
जारी पत्रअनुसार सरुवा भएका कर्मचारीहरूले २०८२ साल चैत महिनादेखि तलब तथा भत्ता हाल कायम गरिएको नयाँ दरबन्दीबाट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ।
यस सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (प्रहरी), लैनचौरलाई आवश्यक अभिलेख अद्यावधिक गर्न अनुरोध गरिएको छ। साथै, सरुवा सम्बन्धी विवरण कार्यान्वयनका लागि सम्बन्धित कार्यालयहरूलाई जानकारी गराउँदै आवश्यक प्रशासनिक प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।
प्रहरी संगठनभित्र जनशक्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन नियमित रूपमा यस्ता सरुवा निर्णयहरू गरिँदै आएको छ।







