काठमाडौँ। नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीभित्र आयोजित विशेष महाधिवेशनलाई आफूहरूले औपचारिक रूपमा स्वीकार नगरेको बताएका छन्।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचन आयोगले बदनीयतपूर्वक निर्णय गर्दै गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको आरोप लगाए। विश्वकर्मा काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवानिकट नेता मानिन्छन्।
उनले निर्वाचनमा भने सहकार्य गरिएको उल्लेख गर्दै १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले विशेष महाधिवेशनलाई मान्यता नदिएको दाबी गरे। साथै, पार्टीभित्र विभाजन भएको भन्ने धारणा आफूले स्वीकार नगरेको पनि उनले स्पष्ट पारे।
विश्वकर्माका अनुसार पार्टीको आधिकारिकता कसको भन्ने विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले त्यसको अन्तिम निर्णय नआएसम्म दुवै पक्षबीच सहमति नबनेको अवस्था रहेको छ। अदालतबाट आउने फैसला स्वीकार गर्दै अगाडि बढ्ने उनको भनाइ छ।
उनले निर्वाचन आयोगले अन्तिम समयमा गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै त्यसै कारण शेरबहादुर देउवाले चुनावी अभियानमा सक्रिय रूपमा मत माग्न नजाने निर्णय गरेको जिकिर पनि गरे।







