काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत धुलिखेल-खावा सडक खण्डमा कालोपत्रे कार्य सुरु हुने भएपछि उक्त खण्डमा केही समयका लागि सवारी सञ्चालनमा आंशिक रोक लगाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा शुक्रबार बसेको समन्वय बैठकले आगामी चैत्र ७ गतेदेखि २० गतेसम्म सो सडक खण्डमा यातायात व्यवस्थापनसम्बन्धी विभिन्न निर्णय गरेको हो।
बैठकमा पाँचखाल नगरपालिका र मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख, सुरक्षा निकायका प्रतिनिधि, सहायक प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन कार्यालयका प्रमुख, साइट इन्जिनियर तथा निर्माण व्यवसायीका प्रतिनिधिहरू सहभागी थिए।
बैठकले कालोपत्रे कार्यलाई प्रभावकारी बनाउन ट्रिपर सञ्चालन पूर्ण रूपमा रोक्ने निर्णय गरेको छ। साथै, सोही अवधिमा बस तथा अन्य चारपाङ्ग्रे मालवाहक सवारीसाधनलाई साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ।
यातायात व्यवस्थापनका लागि आवश्यक वैकल्पिक मार्गको प्रबन्ध जिल्ला ट्राफिक प्रहरी कार्यालयले मिलाउने जनाइएको छ। त्यसैगरी, सम्बन्धित क्षेत्रमा आवश्यक सूचना प्रवाह तथा समन्वय सडक डिभिजन कार्यालय भक्तपुरले गर्ने व्यवस्था गरिएको छ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले जारी गरेको सूचनामा निर्णयको कार्यान्वयनका लागि सम्बन्धित निकाय तथा यातायात व्यवसायीलाई अनुरोध गरिएको छ।
उक्त निर्णयको बोधार्थ जिल्ला समन्वय समिति, सबै स्थानीय तह, सडक डिभिजन कार्यालय भक्तपुर, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई पठाइएको छ।







