काठमाडौँ। स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकनमा सल्यान जिल्लाको दार्मा गाउँपालिका पहिलो स्थानमा परेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को अन्तिम नतिजाअनुसार दार्मा गाउँपालिकाले ७६.४० अंक प्राप्त गर्दै जिल्लाभित्रका सबै स्थानीय तहमध्ये उत्कृष्ट स्थान हासिल गरेको हो।
आयोगले प्रदेश तथा स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकनका आधारमा वित्तीय समानीकरण अनुदानका लागि अंक निर्धारण गर्ने गर्दछ। मूल्यांकन प्रक्रियामा बजेट समयमै प्रस्तुत गर्ने, बेरुजु फर्स्यौटको अवस्था, राजस्व संकलनको वृद्धि, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग तथा वित्तीय अनुशासनको अवस्था जस्ता विभिन्न सूचकलाई आधार बनाइन्छ।
यसअघि आयोगले माघ २९ गते प्रारम्भिक नतिजा सार्वजनिक गर्दै सात दिनभित्र पुनरावलोकनका लागि सूचना जारी गरेको थियो। स्थानीय तहबाट छुट भएका विवरणहरू प्राप्त भएपछि आयोगले अन्तिम परिणाम सार्वजनिक गरेको जनाएको छ।
दार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीका अनुसार आयोगले गर्ने मूल्यांकनले स्थानीय तहको पारदर्शिता, उत्तरदायित्व र वित्तीय अनुशासनको अवस्थाबारे समग्र परीक्षण गर्ने काम गर्छ।
गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाबीचको सहकार्यका कारण जिल्लामै उत्कृष्ट नतिजा हासिल गर्न सम्भव भएको बताए। उनले आगामी दिनमा पनि सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
आयोगद्वारा सार्वजनिक विवरण अनुसार जिल्लाभित्र दोस्रो स्थानमा छत्रेश्वरी गाउँपालिकाले ७२.२४ अंक प्राप्त गरेको छ भने त्रिवेणी गाउँपालिकाले ६८.८७ अंकसहित तेस्रो स्थान हासिल गरेको छ। त्यस्तै कालिमाटी गाउँपालिकाले ६४.४८, सिद्धकुमाख गाउँपालिकाले ५३.४८ र कुमाख गाउँपालिकाले ५२.५० अंक प्राप्त गरेका छन्।
नगरपालिकातर्फ बनगाड कुपिण्डे नगरपालिकाले ६६.९७ अंक प्राप्त गर्दै अग्रस्थानमा रहेको छ। शारदा नगरपालिकाले ६१.१२ अंक तथा बागचौर नगरपालिकाले ५७.५५ अंक हासिल गरेका छन्। आयोगका अनुसार विकास कार्यक्रमको कार्यान्वयन, बजेटको प्रभावकारी उपयोग, प्रशासनिक क्षमता तथा जनसहभागितालगायत सूचकका आधारमा समग्र मूल्यांकन गरिएको हो।







